Rule 19
नाम हटाउन वा सार्न सूचना दिन सक्ने
(१) नियम ९ को उपनियम (३) वा नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको मृत्यु भएको वा निज स्थायी तबरले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वडाबाट बसाइँ सरेको वा विवाह भई अन्यत्र गएको वाधध निजले नेपाली नागरिकता त्याग गरेको वा मतदाता नामावलीमा नाम कायम रहन सक्ने योग्यता गुमाएको रहेछ भने सोही व्यहोरा उल्लेख गरी मतदाता नामावलीबाट त्यस्तो नाम हटाउन वा सार्न मतदाता वा निजको परिवारको कुनै सदस्यले कार्यक्रममा उल्लिखित समयावधि भित्र अनुसूची–७ बमोजिमको ढाँचामा सहायक नाम दर्ता अधिकारी समक्ष दरखास्त दिन सक्नेछ ।
(२) कुनै मतदाता आफ्नो मतदाता नामावली रहेको गाउँ विकास समिति वा नगरपालिकाको वडाबाट स्थायी तबरले बसाइँ सरी आएको वा विवाह भई आएको कारणले निजको नाम त्यस्तो मतदाता नामावलीबाट त्यसरी वसाइँ सरी वा विवाह भई आएको स्थानको मतदाता नामावलीमा सार्नुपर्ने भएमा सोको लागि त्यस्तो मतदाताले अनुसूची–८ बमोजिमको ढाँचामा सहायक नाम दर्ता अधिकारी समक्ष दरखास्त दिन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम कुनै दरखास्त प्राप्त भएमा सहायक नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा त्यस्तो मतदाताको मृत्यु भएको वा त्यस्तो मतदाता वसाइ सरी वा विवाह भई आएको वा मतदाता नामावलीमा नाम रहन अयोग्य भएको देखिएमा ऐन बमोजिम आफूले हटाउन वा सार्न सक्ने नामको हकमा आफैले हटाउनु वा सार्नु पर्नेछ र आफूले हटाउन वा सार्न नसक्ने नामको हकमा आफ्नो राय सहित प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्नु पर्नेछ । सहायक नाम दर्ता अधिकारीबाट त्यसरी पेश भएकोमा प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो नाम हटाउनु वा सार्नु पर्ने भएमा हटाई वा सारी सोको विवरण सहायक नाम दर्ता अधिकारीलाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मतदाता नामावलीबाट नाम हटाएको वा सारेको सूचना सहायक नाम दर्ता अधिकारीले अनुसूची–१० बमोजिमको ढाँचामा आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम नाम हटाउदा वा सार्दा सहायक नाम दर्ता अधिकारी वा प्रमुख नाम दर्ता अधिकारीले सोको कारण उल्लेख गर्नु पर्नेछ ।
(६) सहायक नाम दर्ता अधिकारीले उपनियम (३) बमोजिम मतदाता नामावलीबाट नाम हटाए वा सारेपछि संशोधित मतदाता नामावली तयार गर्नु पर्नेछ ।